
- कल्पना चिलवाल
अाजसम्म
हामीले चिनेकाे
सबैभन्दा ठुलाे
शत्रु हाे सरकार
जसले
अाफ्नाे प्रत्येक अवतारमा
पुरानै शासनकाे
नयाँ जाल बुन्छ र
अधिकारकाे जलराशीबाट
सर्लक्क झिकेर
हामीलाई सिद्रा बनाँछ
जुन सिद्रा
राजनीतिक सङ्कटकालमा सरकार
सुप बनाएर पिउँछ र
प्रत्यागमित शक्तिले
फेरि हामीमाथि पुरानै ढर्राकाे शासन गर्छ
जुन शासन
कहिले काेर्रा , कहिले जेल र कहिले बन्दुक बन्छ
र हामीमाथि बर्सन्छ
याे भूमिमा
श्री ३ र श्री ५ का
काेर्रा परेकाे ज्यानले
बहुदलमा फेरि
उस्तै ताडना पाउँछ
भाेकाे पेटमा
गणतन्त्रले पनि
केही चाराे नहाल्दा
अल्पायुमा नै प्राणपखेरू
भूर्र उडेर जान्छ
सरकार
एउटा भाइलाई बर्दीमा पाल्छ र
अर्को भाइलाई बिद्रोही बनाएर
गाेली ठाेक्न लगाउँछ
सरकार
चाैरीकाे गर्दनबाट
रगत झिकेजसरि
कुरूप व्यवस्थाकाे भाँडाेमा
मानव रगत भर्छ
जुन रगत
कहिले सहिदको ज्यानबाट झिक्छ
कहिले गरिबकाे करबाट लिन्छ
कहिले पसिनाकाे रिमिट्यान्सबाट बटुल्छ
कहिले देशकाे सम्पदा लुटेर थुपार्छ
र अाफ्नाे अतृप्त रक्त प्यास बुझाउँछ
यी सब
कुशासन बदल्छु भनेर
जाे जाे सिँहदरबार गए
सपाट ती अाफै बदलिएर
सनातनी सरकारजस्तै भए
याे देशमा
कहिल्यै
अमृत बन्न नसकेको
हाम्रालागि बीस हाे
सरकार
अाजसम्म
हामीले चिनेको
सबैभन्दा ठुलाे
शत्रु हाे सरकार ।

- सुम्निमा पाण्डे।
काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।
तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो ।
सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।
बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।
अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो ।
बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो ।
रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ ।
उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।
भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई ।
रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।
उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।
आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु । तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए ।
उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो ।
बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो ।
त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात ।
पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।
रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन ।
उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा पनि थिएन । ऊ हिँड्दै सामाखुसीसम्म आइपुगी । ओहो ! त्यो दिन रूपाको बिजोग, उसकोे गुप्ताङ्गबाट रगत आइरहेको थियो, सुनिएको थियो, बडो मुस्किलले ऊ हिँडेकी थिई ।
बल्लबल्ल आफ्नो घर आइपुगेकी मात्र थिई, आमाले उसकोे हालत देखेर के थाहा पाउनु भयो कुन्नि, उसलाई बेस्कन गाली गर्दै पिट्नु पनि भयो ।
बिचरी रूपा सजिलै उभिन पनि नसक्ने अवस्थामा पुगेकी थिई । तर दिदी र आमाले उसलाई मायाको साटो गाली बर्साउँदै कोठामा पस्न पनि नदिई नुहाउन लगाउनुभएको थियो । रूपा दुई दिनसम्म हिँड्न पनि सकिन ।
ऊ आफ्नो त्यो अवस्थामा आमा र दिदीले माया गरिदिए हुन्थ्यो भन्ने चाहन्थी । तेस्रो दिन अलिअलि हिँड्न सक्छु कि जस्तो भएपछि ऊ घरबाट निस्किएर सिधै भृकुटिमण्डप पुगी-काम गर्न । ऊ भनेको दिनमा नपुगेकीले जुत्ता साहुले अर्कै केटा राखिसकेको रहेछ । उ भुतभुताई ब्याड लक । के सोचेकी थिई, के भयो । ओहो ! कामको निहुँले उमेशले के पायो , अनि रूपाले के पाई !
एउटा काम त उमेशकै कारणले गर्दा फुत्कियो । उमेशलाई रूपाले काम खोजिदेऊ भनेर कराउन थाली । उमेश केही आवारा फुच्चेहरूको पो लीडर, भन्नासाथ उसले पनि कहाँ काम पाउँथ्यो र ! तर काम लगाइदिन्छु, भोलि यो ठाउँमा काममा लैजान्छु भन्थ्यो ।
रूपालाई शारीरिक रूपमा सताउन भने चुक्दैनथियो । तीनचार महिनापछि उसले फेरि काम खोजिदियो-एउटा म्यानपावर कम्पनीमा पियन । सानो उमेर नपढेकी केटी भए तापनि अफिसको पियन- रूपालाई त्यो काम मन परेको थियो । ऊ काम गर्न थाली ।
पहिलो महिनाको तलबमा केही आफुलाई राखेर सबै पैसा उसले आमालाई दिँदा आमा पनि मक्ख पर्नुभएको थियो । दिन बित्दै गए । उसकोे महिनावारी पनि शुरु भै सकेको थियो ।
उमेश रूपाको प्रेमी पनि होइन तर उसित रूपा अब आफै नै हप्तै पिच्छेजस्तो भेट्न थालेकी थिई एकान्तमा । उमेशलाई थाहा थियो होला- ऊ संधै कन्डमको प्रयोग गर्दथ्यो ।
उमेशले विवाह गर्यो रूपा पनि जन्ती गएकी थिई ।
रूपालाई उमेशले विवाह गर्न लागेकोमा कुनै दुखेसो थिएन । बिस्तारै उमेशले उसलाई भेट्न कम गर्न थाल्यो । उसले रूपासित मेटाउने गरेको भोक त घरमै मेटिरहेको थियो । तर रूपाकोे शरीरले भने सेक्स मागिरहेको थियो । त्यसैले उसले उसकै हाकिम बिनोदलाई अनेक हाउभाउ देखाउन थाली ।
उमेरमा धेरै फरक भए पनि के भो त ? मलाई चाहिएको कुरा पाए भइहाल्यो नि भन्ने ठानेकी थिई रूपाले । पुरुष न हो, कत्ति दिन टाढा हुन सक्दथ्यो र ! एक दिन अफिसका कर्मचारी सबै गएपछि उसले रूपालाई चिया बनाऊ त भनेर रोक्यो । ऊ चिया पकाउन थाली ।
अफिसका सबै कर्मचारी गईसकेकाले चिया पाक्न नपाउँदै उसलाई हाकिमले अँगालोमा बाँधिसकेको थियो । रूपाले चाहेकै त्यही थियो । अब त रूपालाई एकान्त पनि खोज्नु थिएन-अफिसको सोफा नै उसकोे लागि मखमलीको बिस्तरा थियो ।
केही महिनापछि रूपाको हाकिम त्यो अफिस बेचेर विदेश जाने भयो । रूपाले त्यो सुनेपछि विनोदलाई अँगालोमा हालेर धेरै रोई । रूपा रोएको देखेर हो, या उसकोे माया नै ले हो- विनोदले रूपाको कपाल सुमसुमाउँदै भन्यो-
“म तिमीलाई केही गरिदिन चाहन्छु । तिमी पनि विदेश जाऊ ।”
“मसित त्यत्तिका पैसा कहाँ हुनु र म विदेश जाऊँ ?”
विनोद सरले रूपालाई आफ्नै मोटरसाइकलमा राखेर कहाँकहाँ लग्यो । विनोदकै अनुकम्पाबाट रूपाको नागरिकता पासपोर्ट सब बन्यो । घरमा रूपाले नागरिकता र पासपोर्ट बनाएको कुरा गरेकी थिइन । नागरिकता र पासपोर्ट बने तापनि रूपालाई आफु पनि विदेश जान पाउँला भन्ने विश्वास नै लागेको थिएन ।
विनोद सरले जेजे भने पनि ऊ नेपाल बसुन्जेल रूपाको शरीरसित खेल्न चाहन्छ, त्यसैका लागि भूमिका बाँधेको हो, बस, भन्ने रूपाको मनमा लागेको थियो । तर ऊ नै झुटो साबित भई ।
विनोदले रूपाका लागि ५५ हजार खर्च गरेको उसले थाहा पाई । ओहो, यत्रो पैसा कसरी तिर्ने नि ! रूपाले आफ्नो निरीह अवस्था विनोदका अगाडि राखी । कमाएर तिर्नु ल, विनोदले सामान्य रूपमा लिँदै मुस्कुराएर भनेको थियो । केही दिनपछि रूपाको भिसा पनि आयो ।
घरमा केही पनि नभनी आज र भोलि साथीकोमा जान्छु भनेर रूपा दुई दिनका लागि कपडा एउटा ब्यागमा हालेर घरबाट निस्किई । कमाउने छोरी, आमा पनि केही बोलिनन् । विनोदको मोटरसाइकलमा पछाडि बस्न नजानेर सिकाएको संझिदै रूपा चढी दुबइको जेटमा ।
विनोदको अनुकम्पाले रूपा आइपुगी दुबइ । ओहो ! यत्रा यत्रा घर त उसले सिनेमामा पनि देखेकी थिइन । कारको झ्यालबाट बाहिरको रमिता हेर्दै ऊ पुगेकी थिई टुंगोमा । एउटा घरको मुनि गएर कार रोकियो । त्यस घरको छिँडीमा नै पचास साठीवटा जति कारहरू थिए ।
त्यहीँबाट उसलाई लिन गएको मानिसले लिफ्टभित्र उसलाई पनि बोलायो । जीवनमा पहिलोपल्ट सब कुरा ऊ देखिरहेकी थिई अनौठाअनौठा । भित्तामा भएको बटन थिचेपछि लिफ्ट माथि हान्नियो । धेरै माथिको तलामा पुगेपछि ढोका खुल्यो । एउटा ढोकाको अगाडि गएर त्यो मान्छेले डोरबेल बजायो । एउटी अधबैँसे महिलाले ढोका खोलिन् । वेलकम इन दुबइ, वेलकम इन होम भनेर रूपातिर हेरेर मुस्कुराइन् । रूपाले उसले भनेको त बुझिन तर मुस्कानले जवाफ भने दिई ।
धेरै केटी रहेछन् भित्र त । रूपालाई लिएर आउने मानिस कोठाको ढोकैबाट बिदा भएको थियो । हातखुट्टा धोएर कपडा फेरेर केहीबेर चिनजान गरेपछि खाना पाक्यो । खाना खाएर उसलाई दिइएको बिस्तरामा ऊ पल्टिई ।
लामो प्लेनको थकाइले गर्दा होला ऊ पल्टिनासाथ निदाइहाली । अधबैँसे महिला जसले ढोका खोलेर रूपाको स्वागत गरेकी थिइन्, उनैले भोलिपल्ट उसलाई काम गर्ने ठाउँमा लिएर गइन् । ओहो, काम त के, डान्स बारमा नाच्नुपर्ने रहेछ । आजको दिनसम्म रूपाले कतै पनि नाचेकी थिइन ।
उसले मलाई त नाच्न कत्ति पनि आउँदैन भनेर महिलालाई भनी । उसकोे कुरा सुनेर महिला बेस्कन हाँसिन् र भनिन्- रूपा, तिमीलाई नाच्न आउने भएको भए पनि तिमीले सिकेको नाच यहाँ काम लाग्दैनथियो । तिमीलाई यहाँको नाचका बारेमा सिकाउँछन् । पीर नगर ।
रूपालाई नाच सिकाउने मानिसको जिम्मा लगाइयो । नाच सिकाउने मानिस त छक्का रहेछ । एक हप्तामै ऊ नाच्न पारङ्गत भई ।
अब उसकोे पनि ग्राहकहरू सामुन्ने नाच्नुपर्ने पालो आयो । समयमै ऊ पुगी डान्स बारमा । उसलाई सिँगार्न लगे । ओहो ! रूपाको अनुहारमा त केके पोतियोपोतियो । उसले कहिल्यै नक्कल पार्ने या अनुहारलाई सिँगार्ने त्यस्ता सामानहरू प्रयोग गर्नु त के देखेकी पनि थिइन ।
सानै उमेरदेखि दुईछाक भरपेट खाने तिर्सनामा बसेकी उसले के देखोस् र त्यस्ता सामानहरू । सिँगार्ने काम सकिएपछि अब पालो लुगाको थियो । आफुले आफैलाई हेर्दा सरम लाग्ने खालका लुगा उसलाई लगाउन लगाइयो । ऊ पनि पुगी बारमा नाच्न । ऊ अलि नर्भस भइरहेकी थिई ।
नाच्दानाच्दै रक्सीले मातेर ढुनमुनिएका पुरुषहरूको अँगालोमा पुग्नु, भनेर सिकाइएको थियो । उसका अरू साथीहरू पनि त्यसै गर्दैथिए । एकातिर रक्सीको मात अर्कोतिर सेक्सी पहिरन र शृङ्गारमा सजिएका नर्तकीहरूको हाउभाउ । अनि पैसा त कत्ति बर्सिने रहेछरहेछ ।
रूपालाई त्यो काम कत्ति पनि राम्रो लागेन । तर ऊ कुनै चोखी केटी पनि त थिइन । आफ्नो घरमा केही खबर नै नगरी रूपा चार महिना दुबइ बसी । केही पैसा जम्मा गरेर ऊ फर्किइ नेपाल । सिधै घरमा पुगी । चार महिनाको दुबइ बसाइले रूपाको पहिरनमा धेरै परिवर्तन ल्याइसकेको थियो ।
उसको परिवारका लागि अपच भयो क्यार ! घरकालाई के लाग्यो- रूपालाई घरमा पस्नै दिएनन् । ऊ उल्टो खुट्टा साथीकोमा गएर बसी । साथीकोमा पनि धेरै दिन बस्ने कुरा भएन, घरमा पस्न पनि पाइएन । दुई दिन पछाडि दुइहजार महिनाको हिसाबले एउटा कोठा भाडामा लिएर ऊ आफ्नो बेग्लै घर संसार बनाएर बसी ।
सीमित पैसा के नै हुन्थ्यो र ! पैसा सकियो । काम खोजे पनि पाइएन । अब उसकोे लागि बस्न खान कै समस्या शुरु भयो । काम धेरै खोजी, उसका साथीहरू सबै कता पुगेपुगे । फेरि उसकोे लेवल पनि त माथि पुगेको थियो । अब ऊ आवारा केटाहरूलाई भेट्न पनि चाहन्न थिई । ऊ नेपालमा आफुदेखि आफै हारी ।
रूपाले फेरि दुबइ नै फर्कने विचार गरी । उसलाई बाँच्ने समस्या आइसकेको थियो । दुबइको डान्सबारको मालिकलाई फेरि आउने विचार राख्दै फोन गरी । बाँच्नका लागि नचाहँदा नचाहँदै पनि ऊ फेरि पुगी, उत्तेजित शरीर देखाउँदै ग्राहक खुसी पार्न दुबइ ।
योपल्ट उसलाई उसकोे काम नराम्रो पनि लागेन । ऊ मन लगाएरै काममा व्यस्त हुन थाली । अब उसकोे जिन्दगी त्यही थियो । एक दिन रूपाको भेट एक जना पचास वर्ष जत्ति देखिने इन्डियनसित भयो ।
कपाल झरेर पछाडिको मात्र बाँंकी रहेको, झन्डै सय केजी जत्तिको, एक प्रकारको आकर्षक व्यक्तित्वको धनी, त्यो अग्लो मानिस मुस्लिम रहेछ, नाम रहेछ शाजिद । बिस्तारै ऊ रूपाकै मात्र ग्राहक बन्दै गयो ।
रूपाको कुनै पनि डान्स ऊ गुमाउन चाहँदैन थियो । बिस्तारैबिस्तारै ती दुई एक अर्काको नजिक हँुदै गए । त्यो निकटतामा कहिले प्रेमको बिरुवा उम्रिसकेछ, दुवैले थाहा नै पाएनन् ।
राती रूपाको डान्सका लागि ऊ आउँथ्यो नै, दिउँसो पनि उनीहरू बाहिर भेटेर घुम्न थाले । रूपा २० वर्ष पनि पुगेकी थिइन । रूपा पहिलोपल्ट गहिरो प्रेममा डुबुल्की मारिरहेकी थिई ।
सेक्स के हो भन्ने नजान्दै दुईजनासित सुतिसकेको रूपाको शरीरले तेस्रो व्यक्तिसित सेक्स हैन प्रेम पाएको अनुभव गरिरहेको थियो । त्यो इन्डियन को हो र के गर्छ रूपालाई केही थाहा पनि थिएन र जान्ने चासो पनि थिएन । उसलाई यतिमात्र थाहा थियो-त्यो इन्डियन उसकोे प्रेमी हो ।
एक दिन दिउँसो शाजिदले रूपालाई बोलायो । त्यो समयमा रूपा खाना खाएर बिस्तरामा पल्टिएर टिभी हेरिरहेकी थिई । शाजिदले घर बाहिर आएर उसलाई फोन गरेको रहेछ । ऊ हतारहतार लुगा फेरेर निस्किई । शाजिद एउटा राम्रो कालो कार लिएर आएको थियो त्यो बेला ।
रूपालाई अगाडिकै सीटमा राखेर शाजिदले कार दौडायो । पहिलोपल्ट रूपा शाजिदको छेउमा कारमा बसेकी थिई । त्यो दिन उसले रूपालाई यही पार्कमा लिएर आएको थियो, जहाँ अहिले रूपा पुगेकी थिई । शाजिदले बाटोमै नयाँ कार किनेको भनिसकेको थियो ।
पहिलोपल्ट रूपालाई नै त्यो कारमा लिएर बाहिर जान मन लाग्यो रे । कारको नाम रहेछ बी.एम. डब्लू. । शाजिद खुसी हुँदै सबै कुरा रूपालाई सुनाइरहेको थियो । तर रूपालाई कारको जे नाम भए पनि के मतलब ! कार राम्रो थियो । रूपा र शाजिदले केहीबेर यो पार्कमा बिताए र उनीहरू कारभित्रै आइपुगे ।
रूपाले लङड्राइभिङमा जाने इच्छा राखी । कार हुइँकियो अबुधाबीतिर । अबुधाबीमा शाजिदले एउटा होटलमा लिएर गयो रूपालाई । प्रेम भएको भनौँ या चिनजान भएको धेरै महिनापछि पहिलोपल्ट ती दुईबीच त्यही होटेलमा भयो शारीरिक मिलन ।
त्यो रात शाजिदले रूपालाई कामबाट बिदा लिन लगायो । दुवै त्यहीँ बसे । रूपालाई लागिरहेको थियो, दुवैजना सेक्सकै लागि अबुधाबी आएका हौँ कि जस्तो । एउटा शरीरले चाहेरै एक रातमा यत्ति धेरैपल्ट सेक्स गर्न सक्ला र ? जस्तो लाग्नेगरी ती दुई त्यहाँ खेलिरहेका थिए ।
शाजिद बेलाबेलामा बी.एम.डब्लू.को कुरा गरेर खुसी हुन्थ्यो भने रूपा कारभन्दा शाजिदकी हुन पाएकोमा बढी खुसी थिई । अब त उनीहरू कहिले शाजिदकै घरमा त कहिले कारमा कहिले होटेलमा भेटिइरहन्थे । शाजिदले रूपाको नाम नै राखेको थियो …आग ।
काम डान्सबारमा नाच्ने भए पनि रूपाले उसकोे जिन्दगी पाएकी थिई शाजिदको रूपमा । उससित नजिकिँदै गएपछि मात्र रूपाले थाहा पाएकी थिई-शाजिद इन्डियाको केरला भन्ने शहरको मानिस रहेछ । तीनजनाको पार्टनरशिपमा एउटा कस्ट्रक्सन कम्पनी रहेछ उसको । उसकोे कम्पनीमा आठ हजार कामदार रहेछन् ।
ऊ त रूपाले सोच्नै नसक्ने धनी मानिस पो रहेछ । उसकोे घरमा आमा, श्रीमती र एक छोरा रहेछन् । उनीहरू कहिलेकाहीँ मात्र आउने रहेछन् दुबइ । शाजीदले रूपालाई भनेअनुसार ऊ मधुमेहको बिरामी रहेछ ।
अनि डाक्टरले सेक्सले बिमारी केही कम गराउँछ भनेकोले उसले रूपालाई रोजेको रहेछ । मात्र शरीरका लागि ऊ रूपाको नजिक भएको थियो । तर ऊ रूपालाई नजानिदोगरि औधी माया गर्न थालेको थियो । उसले रूपासँग केही लुकाएको पनि थिएन । त्यसैले पनि होला, उसकोे रखैल हुँदा पनि रूपा खुसी नै थिई ।
शाजिद एक हप्ताका लागि इन्डिया जाने भयो । त्यो एक हप्ता काट्न रूपाका लागि ज्यादै कठिन भएको थियो । शाजिदले इन्डिया जानुभन्दा पहिले नै भनेको थियो रूपालाई- “मलाई फोन नगर्नु ल, म उतैबाट गर्छु ।” शाजिद दिनमा तीनचारपल्ट उसलाई फोन गर्दथ्यो ।
शाजिदकोे फर्कने दिन आयो । शाजिदले जानुभन्दा अगाडि नै रूपालाई के ल्याइदिऊँ भनेर सोधेको थियो । रूपाले भनेकी थिई- जीवनभरि मेरो साथमा रहने गिफ्ट ल्याइदिनु भनेर । शाजिदले एयरपोर्टमा आएर भन्यो- “आग, मै जो गिफ्ट लेकर आरहा हुँ, ओ आपकी जिन्दगीभर आपके साथ मे रहेगी ।” रूपासित शाजिदको घरको चाबी थियो । उ त्यो रात कामबाट पनि बिदा लिएर बसेकी थिई ।
समयभन्दा आधाघण्टा ढिला शाजिद घरमा आइपुग्यो । रूपा सानो बच्चा लेप्सिएजस्तै शाजिदसँग लेप्सिन पुगी । शाजिदले पनि कपडै नफेरी रूपालाई बोकेरै बिस्तरामा पु¥यायो । खहरे खोलामा बाढी आयो, अनि फेरि सुक्यो । शाजिदले उठेर आफुसित लिएर आएको सुटकेश खोल्यो । एउटा गहनाको बट्टा निकाल्यो । मोतीको सेट ल्याएको रहेछ । आफैँले लगाइदियो रूपालाई ।
एउटा ठूलो खाम निकाल्यो र रूपालाई दिँदै भन्यो-“लेऊ तिमीले मागेको गिफ्ट ।” उसले खाम खोलेर हेरी । शाजिदले केरलाबाट दश कक्षा पास गरेको सर्टिफिकेट बनाएर ल्याइदिएको रहेछ । सर्टिफिकेट दिएपछि शाजिदले उसलाई पढाउनलाई दिउँसो ट्युशन क्लासमा हालिदियो ।
उसले पनि धेरै नै मेहनतगरी । शाजिदले ट्युशन पढाउने सरलाई भनेको थियो- जत्ति पैसा चाहिन्छ भन । तर छ महिनामा रूपाको पढाइ दशकक्षा पास केटीको जस्तो हुनुपर्दछ । शाजिदको इच्छा, उसकोे र सरको मेहनतले समयमै ऊ दश कक्षा पढेको भन्न सुहाउने भई । सर्टिफिकेट छँदै थियो ।
शाजिदले उसलाई दुबइकै एउटा राम्रो स्कूलमा कक्षा एघारमा भर्ना गराइदियो । दिउँसो ऊ पढन जाने, बेलुका डान्स बारमा नाच्ने हुनाले भेट कम हुने भयो भनेर शाजिदले उसलाई आफ्नै घरमा लग्यो । उ मध्यरातमा घर पुगे पनि शाजिद उसलाई सधैँ पर्खेर नै बसेको हुन्थ्यो । दिन यसरी नै बित्दै गएका थिए ।
शाजिदले उसलाई ठूला मानिसको अगाडि खान, बस्न, हिँड्न, बोल्न सब सिकाउँदै पनि लगेको थियो । रूपाले १२ कक्षा पनि राम्रोसित पास गरी । शाजिदले त्यसपछि रूपालाई उसकै सेक्रेटरी बनाएर आफ्नै अफिसमा काम मा लगायो । दुई वर्षसम्म डान्सबारमा काम गर्छु भनेर पासपोर्ट धरौटी राखेकी थिइ रूपाले । उसले क्षतिपूर्ति नै तिरेर रूपाको डान्सबारको काम पनि छुटाइदियो । अब उनीहरू चौबीस घण्टा सँगसँगै भए ।
शाजिद रूपाप्रति यत्ति आशक्त भयो कि उसले रूपालाई विवाह नै गर्ने कुरा गर्न थाल्यो । मुस्लिमधर्मका अनुसार एकै पल्टमा चार श्रीमती राख्न पाइन्छ । उसकोे विचारमा दोश्रो विवाह गर्नु नौलो विषय थिएन । रूपा त यसै पनि कल्पनाको संसारमा नै थिई ।
नाइँ भन्ने त एक प्रतिशत पनि मनमा आएन । रूपा हिन्दू धर्मावलम्बी बाबुआमाकी छोरी, त्यही संस्कारमा हुर्किएकी । तर शाजिद कट्टर मुस्लिम – उसले रूपालाई मुस्लिम कलेजमा पनि पढन पठायो । शाजिदसँग दिनरात बस्दा उसलाई मुस्लिमका बारेमा धेरै कुरा थाहा भै सकेको थियो । ऊ हिन्दूभन्दा पनि आफुलाई धर्म निरपेक्ष मानिस भन्न रुचाउँथी । उसलाई जुन धर्म भए पनि केही मतलब थिएन । तर शाजिद थियो धर्ममा कट्टर । ऊ रूपालाई मुस्लिम बनाएर मात्र विवाह गर्न चाहन्थ्यो । रूपा त शाजिदसित विवाह गर्न गइरहेकी थिई धर्मसित होइन ।
रमजानको महिना शुरु भयो, शाजिदको इच्छाअनुसार उसले पनि शाजिद सँगसँगै रोजा राखेकी थिई । बर्सेनी रमजानमा शाजिदको परिवार पनि दुबइ आउने रहेछन् । परिवार आउने टुङ्गो लागेपछि शाजिदले रूपालाई एउटा होटेलमा एक महिनाका लागि कोठा बुक गराएर राखिदिएकोथियो । उसकोे परिवार आउने अघिल्लो रातसम्म रूपा शाजिदको घरमा बसी ।
शाजिदको परिवार आयो- आमा, श्रीमती र छोरा । शाजिदले केही दिन रूपालाई एकान्तमा पनि भेटेन । घरमा पनि केही फरक अनुभव हुन दिएन । केही दिनपछि शाजिदले बिस्तारै आमासित रूपाको कुरा खोल्यो । आमाछोराको गफ बुहारी र नातिले नसुनून् भनेर शाजिदले आमालाई दुबइमलमा लगेर कुरा गरेको थियो । आमाले रूपालाई हेरेर मात्र जवाफ दिउँला भनिन् । शाजिदले त्यहीँबाट रूपालाई आमाले भेट्न खोजेको कुरा बतायो । साँझ फाइल मगाउने निहुँ पारेर रूपालाई उसले घरमै बोलायो ।
आमाले जानेर र श्रीमतीले अनजानमै रूपासित धेरैबेर कुरा गरे । रूपालाई शाजिदले सबै कुरा भनिसके पनि ऊ केही नर्भस भएकी थिई । उमेरको फरक त छँदै थियो, अर्को रूपा हिन्दू, यो कुरा थाहा पाएर नै शाजिदकी आमाले रूपालाई बुहारीको रूपमा स्वीकारिनन् ।
रूपा हिँडिसकेपछि आमाले शाजिदकी श्रीमतीसित पनि शाजिदको विचारका बारेमा कुरा गरिछन् । श्रीमतीले त झन् विवाहको २६ वर्षपछि श्रीमान्लाई छोड्ने कुरै भएन । शाजिदको भनाइअनुसार रूपासित विवाह गर्ने कुरा केही समयका लागि टर्यो । शाजिदको परिवार फर्कियो इन्डिया । रूपा फेरि पुगी उसकोे बेडरूममा । दिन बित्दै गए । अब रूपा शाजिदको रखेलजस्तै भएर बसेकी थिई ।
विवाह गर्ने आशा पनि मर्दै गएको थियो । एककान दुईकान अफिसमा पनि रूपा शाजिदको रखेल भएर बसेकी छे भन्ने हल्ला त चलीहाल्यो । धेरै जनाले त उसलाई भाभी भनेर पनि बोलाउँन थाले । कतिले खत्तम केटी भनेर कुरा काट्थे । जसले जे भने पनि जीवन धान्नका लागि विदेश पसेकी रूपालाई शाजिदको सामीप्यताले जमिनबाट आकाशमा उडाएको थियो ।
समय बदलियो, विश्वमा आएको आर्थिक मन्दीले दुबइ पनि अछूतो राख्न सकेन । आर्थिक मन्दीकै कारणले शाजिदको कम्पनी पनि धराशायी हुँदै गयो । फिल्डमा काम हुन कम हुनथाल्यो । घरहरू आधाआधा बनेका थिए ।बिस्तारै काम बन्द हुँदै गयो । आठहजारको तलव खुवाउन नसक्ने र लगानी पनि थप्न नसक्ने अवस्थामा पुगेका शाजिद र उसका पार्टनर दुबइ छोडेर भागे ।
राजा महाराजाको जस्तो बसाइ, बी.एम. डब्लू. कार, अफिस सब छोडेर फेरि दुबइ फर्किनै नमिल्ने गरी सबै भागेका थिए । अरू कर्मचारीले त सुइँको नै पाएनन् । तर रूपा लाई त सबै थाहा थियो । दुबइ छोडेर हिँड्ने अघिल्लो दिन शाजिद र रूपा यही पार्कमा आएर धेरैबेर बसेका थिए ।
त्यो पार्कसित दुवैको एक प्रकारको लगावजस्तै थियो । हाँसो, खुसी, दुःख जे पर्दा पनि ती दुई त्यही पार्कमा पुग्दथे । यहाँसम्म कि रूपाले कुनै कुरामा चित्त दुखाई वा उनीहरूकाबीचमा खटपट भयो भने पनि शाजिद उसलाई त्यही पार्कमा ल्याएर सम्झाउने फकाउने गर्दथ्यो । शाजिद र रूपा त्यो रातभरि नै रोइरहे भने पनि हुन्छ । एयरपोर्ट पुगेपछि शाजिदले अति नै गर्यो- आमाको काखमा बच्चा घोप्टेपरे जस्तोगरी रूपाको काखमा घोप्टो परेर धेरैबेर रोइरह्यो ।
मालिकहरू भागिहाले, घरको किस्ता तिर्न नसकेकाले पछि सवैका घरमा पुलिसले ताला लगाइदियो । रूपासित कुनै काम पनि थिएन, बस्ने ठाउँ पनि थिएन । शाजिद दुबइको कानुनअनुसार सजायको भागिदार भयो । ऊ दुबइ आउनु भनेको सिधै जेल जानुथियो । इन्डिया पुगेर पनि शाजिद बारम्बार उसलाई फोन गरिरहन्थ्यो ।
रूपासँग विहेको कुरा भएदेखि श्रीमतीसित शाजिदको बोलचाल नै बन्द भएको थियो । ऊ अब रूपालाई केरला नै बोलाउन थालेको थियो- “आउन नआउन्जेल त हो नि, असन्तुष्टी घट्दै गएपछि सब ठीक त भइहाल्दछ । मिलेर बसौँला ।” तर ऊ कसरी जाओस् ? जुन परिवारले उसलाई स्वीकारेकै छैन, त्यो परिवारमा गएर ऊ कसरी मिलेर बस्न सक्दथी होला त ?
शाजिद दुबइ आउन नमिल्ने, ऊ इन्डिया जान नमिल्ने । यी दुई जोडी अलगिएका थिए । रूपालाई दुवइमा बस्नकै समस्या भयो । उसका अफिसका साथीहरूको त झन् उसकोे भन्दा आर्थिक अवस्था बिजोग भएको थियो । एक जना एकाउन्टेन्टको मात्र अलिकति राम्रो अवस्था देखिएको थियो । रूपालाई एक जना नेपाली दिदीले वास दिनुभयो । रूपा त्यहीँ बसेर नयाँ काम खोज्दै थिई । पारिवारिक समस्याले गर्दा नेपाली दिदी पनि नेपाल फर्कने हुनुभयो । रूपाको बस्ने बासको छानो पनि उडायो ।
शाजिदको अफिसको एकाउन्टेन्ट पनि नयाँ काम खोजिरहेको थियो । उसलाई रूपा र शाजिदको सम्बन्धका बारे सबै थाहा थियो । बासबाट उठिबास हुन लागेपछि रूपाले उसैलाई गुहारी, बस्नका लागि । आफ्नो देशमा आफ्नै आमाले त घरबाट निकालेकी थिइन् भने विदेशी मुलुकमा उसलाई माया गर्ने को नै हुन्थ्यो र ? निमेष उसकोे अपिसको एकाउन्टेन्ट, ऊ पनि पारपाचुके गरेको पुरुष ।
आइज त भन्यो, बस्ने ठाउँ नभए पछि जानै पनि प¥यो । तर उसकोे घरमा आएकै दिन उसले पनि रूपालाई छोडेन । के गर्नु ? नचाहेरै भए पनि रूपा फेरि अर्को पुरुषको वासनाको शिकार हुन पुगी । अब बस्ने बास त भयो, बासको बदलामा रूपाले फेरि शरीर नै बेची । ऊ काम खोज्दै थिई, शाजिदकै भनसुनबाट रूपाले एउटा मल्टिनेशनल कम्पनीमा काम पाई दुबइमै । अब त झन् ऊ चाहेर पनि शाजिदलाई पाउन सक्ने अवस्थामा थिइन ।
उसकोे काम दुबइमा शाजिद इन्डियामा । ऊ दुबइबाट बाहिर जान नपाउने कामले गर्दा, शाजिद दुबइ आउन नसक्ने । यी कुरा निमेषलाई पनि थाहा थियो । यता रूपाले काम पाएको दिनदेखि निमेषले शाजिदसित तिम्रो अब मिलन असम्भव छ भन्दै आफुसित विवाह गर्ने प्रस्ताव राख्न थाल्यो । हुन सक्छ बेगारी भएको बेलामा रूपाको काम देखेर पनि उसप्रति आकर्षित भएको होला या साँच्चै नै मनदेखि विवाहको प्रस्ताव राखेको होला । रूपाले केही बुझ्न सकेकी छैन । ऊ शाजिदबाट शारीरिक रूपमा त टाढा भएकी थिई तर मन त उसैसित थियो नि । यता निमेष झन्झन् विवाहलाई जोड दिन थालेको थियो ।
रूपाले आज नियुक्तिपत्र लिई । शाजिदलाई फोन गर्न ऊ आज धेरै दिन पछाडि यही जावेलपार्कमा आईपुगी । ऊ आज एक्लै यहाँ आएकी छे, ऊ खुसी पनि छे कामको टुङ्गो लाग्यो, दु:खी पनि छे अब शाजिदलाई सायदै नै भेट्टाउली । जहाँ शाजिद र ऊ सधैँ जसो आउँथे आज ऊ एक्लै आएकी छ । आज यो शून्य लागेको पार्कमा, अब म के गरूँ भनेर सोचिरहेकी छे रूपा । पर डुब्न लागेको घामले रातो पारेको आकासलाई एकोहोरो हेर्दै छ उ ।

- माधव लामिछाने ।
नेपाली साहित्यले ०७४ सालको सुरुमै एउटा गहन महाकाव्य पाएको छ । डा. नवराज लम्सालद्वारा रचित ‘धरा’ महाकाव्य पाठकहरूको बीचमा हालसालै आएको हो । यसभन्दा अघि पाँचवटा कृति रचिसकेका लम्सालको यो छैटौँ कृति हो । महाकाव्यको रूपमा भने यो उनको दोस्रो कृति हो ।
‘धरा’ पृथ्वीको अर्को नाम हो । हामी सबै पृथ्वीवासी हौँ । विश्वका सबै देशहरू पृथ्वीभित्रै छन् । अनि यिनै देशहरूको सूचीमा हाम्रो नेपाल पनि पर्दछ । हामीले देशलाई आमा पनि भन्दछौँ । पृथ्वी आमाकै काखमा सबै प्राणीको जीवन चलिरहेको हुन्छ । पृथ्वीको देशरूपी विभिन्न अंशमा हामी बस्छौँ । यसरी बस्ने हरेकले आफ्नो खण्डलाई बुझ्नुपर्छ । हरेकपल माया गर्नुपर्छ । धराभित्र उनले नेपाललाई माया गर्नुपर्छ भनेर सिकाएका छन्:–
‘आजै लेखूँ मधुर कविता देश जोडूँ म आज
आफैँ टेकी दिलमय धरा डोब छोडूँ म आज ।
माया बस्ने हृदय नखुली खुल्छ कस्को मुहार
धुस्रा फुस्रा कहर ननिका भार तोडूँ म आज । (पृ.३७)
महाकाव्यभित्र प्रवेश गर्दा हामीले राष्ट्रको कुरा सुन्छौँ । वास्तवमा राष्ट्र भनेको के हो ? हरेक नागरिकले बुझ्नुपर्छ भन्ने कुराको उठान धरामा गरिएको छ । राष्ट्र केवल माटाको थुप्रोमात्र होइन । त्यहाँभित्र बस्ने जनता राष्ट्रका अंश हुन् । राष्ट्रमा बस्ने हरेक वर्ग राष्ट्र हुन् । तिनीहरूले अवलम्वन गरेको संस्कृति पनि राष्ट्रकै अंश हो । निश्चित भूगोलभित्रको हावापानी, वनस्पति, भाषा, साहित्य, अन्नअनाज, रहनसहन, खानपान सबै राष्ट्र हो । महाकाव्यकार लम्सालले धरामा राष्ट्रप्रति जगाउनु पर्ने भावनाको कुरा उठाएका छन् ।
‘धरा’ महाकाव्यभित्र एउटा विशद विषयको प्रवाह छ । यति हुँदाहुदै पनि यसले महाकाव्यको परम्परागत पर्खालभित्र आफूलाई सीमित राखेको छैन । महाकाव्यकारले आफ्नै मन्तव्यमा यसको स्वीकार गरेका छन्– ‘...नायकको एकल केन्द्रीयता वा परम्परागत कुलीनताको ख्याल गरिनँ । धीरोदात्त नायकको परिभाषा खोज्न लागिनँ । विषय आफैँमा नायक र कथ्यप्रवाह आफैँमा शैली बनेर काव्य बगोस् भन्ने पनि लाग्यो । गौडी, पाञ्चाली र वैदर्भी रीति, ओज माधुर्य र प्रासाद गुण तथा श्रृंगाार, हास्य र करुणआदि नवरस शब्द र अर्थसँग खुल्ने विविध अलङ्कारहरू किन, कहाँ र कसरी मिलाउने भन्ने जोडघटाउ पक्कै गरिनँ ।’
‘धरा’ महाकाव्य पढिरहँदा नेपालको वैविध्यपूर्ण विशेषताको राम्रो झलक पाइन्छ । यहाँ नेपालको माटो चिनाइएको छ । जातजाति चिनाइएको छ । संस्कार र संस्कृति झल्काइएको छ । केवल इतिहास र शासकका कुरामात्र छैन । तराई छ, पहाड छ र हिमाल छ । त्यहाँको वातावरणको सुस्पष्ट चित्र छ । जनजातिको बासस्थानको राम्रो वर्णन छ । माटोको सुवासको कुरा छ । त्यति राम्रो भूगोल र त्यसभित्र हुर्किरहेका विविध खाले खजानालाई चिन्न नखोजेर हामी मृगमरिचिकाभै अन्तको ककनी झोक्कामा रहलिन पुग्छौँ, त्यो हाम्रो ठूलो गल्ती हो भनेर कविले राष्ट्रवासीहरूलाई सम्झाएका छन् ।
धरा महाकाव्यले व्यक्ति र राष्ट्र भनेका नङ र मासुको सम्बन्धमा रहेका छन् भन्ने देखाएको छ । न माटो विना व्यक्तिको धरातल रहन्छ, न व्यक्ति विना माटोको अर्थ । त्यसैले माटोभित्र समेटिएको मान्छेको समूह र तिनको जनजीवनसँग गाँसिएका जीवनका विभिन्न पाटाहरूलाई धराले राम्ररी अगाडि ल्याएको छ । वास्तवमा आजको नेपालमा राष्ट्रियताको कुरा उठिरहँदा विविध खाले धारणाहरू आइरहेका बेला तराई, पहाड र हिमालको समुच्च चिनाइ र बुझाइ नै दरो राष्ट्रियता हुने कुरालाई दृढतापूर्वक प्रस्तुत गरिएको छ । कविको भनाइमा देश र जनताको सम्बन्ध बाँसुरी र धुनको जस्तो हुन्छ । कला र रङको जस्तो हुन्छ ।
काव्य, कविता र कविको अन्तरसंवादभित्र धराको फेरो घुमेको छ । गद्य र पद्य दुबै शैलीमा बगेको धराकामा मन्दाक्रान्ता, शार्दूलविक्रीडित, उपजाति, वसन्ततिलका, झ्याउरे (मुनामदन), स्रग्धरा, अनुष्टुप शास्त्रीय छन्दको सुललित प्रवाह छ । बिम्ब र प्रतीकको प्रयोगमा महाकाव्यकारले राम्रो मिहिनेत गरेका छन् । विशेष गरेर काठमाडौँ खाल्डामा नेपालको समग्र भविष्यको खाका बन्ने गर्छ । यसरी खाका बनाउनेहरूले दूरदराजको नेपाल र त्यहाँका नेपालीको आत्मा छामेर कार्यक्रम ल्याउन नसकेको प्रति कविमा अलि विद्रोहको ज्वाला दन्केको छ । नारा र भाषणमा मात्र राष्ट्रियता खोज्नेहरूप्रति कविले खवरदारीको औँला उठाएका छन्–
‘मन्दिर ढलाएर सप्ताह लगाउँछ सहर – पैसा बटुल्न,
मान्छे मारेर गाई दान गर्छ – वैतरणी तर्न,
छोरी बेचेर कन्यादान गर्छ अरू कसैको – स्वर्ग जान ।
तुलसी उखेलेर सिस्नो रोप्छ ,
र सिस्नोकै पानी अचाएर चोखिन्छ ढोंगीहरूको कर्मकाण्ड ।.....(पृ.२३६)
नेपालमा शासनको अभिभारा लिएर बस्नेहरूले देशको परिभाषानै नबुझेर हो कि नचाहेर हो देश सधैँ छायामा छ । त्यसैले होला कवि लम्सालले नेपालका वर्तमानदेखि भूतपूर्व गरेर जम्मा पाँच जना प्रधानमन्त्रीहरूलाई ‘धरा’ पढाएर घुमाउरो पाराले देश बुझ्न लगाएका छन् । त्यसरी पढेपछि सबैले देशलाई नयाँ ढङ्गले बुझेको कुरा आफ्नो मन्तव्यमा राखेका छन् । अनेकथरी संस्कार र संस्कारलाई अवलम्वन गर्ने जातजाति बीचको एकता र एकले अर्को संस्कृतिप्रति गर्ने सम्मानले राष्ट्र बलियो बन्ने छ भन्ने बिचार ‘धरा’मा दिइएको छ ।
नेपाल देशलाई राम्ररी चिन्न चाहनेहरूले धरा पढेपछि यसको धेरै कुराहरू थाहा पाउन सक्छन् । विद्यालय र विश्वविद्यालयमा पढाइहुने राष्ट्रियताको पाठले नागरिकहरूलाई देश बुझ्न सघाएको छैन भन्ने ठहर कविले गरेका छन् । राष्ट्रकवि माधव घिमिरेले धरालाई काव्यको नेपाल र नेपालको काव्य हो भनी उच्च महत्व दिनुभएको छ ।
भूमिका र मन्तव्यसहित चार सय अठतीस पृष्टमा समेटिएको धरा महाकाव्य सबै खाले पाठकका लागि उत्तिकै रुचिपूर्ण छ । यस महाकाव्यलाई एउटा स्कुले बच्चादेखि विश्वविद्यालयसम्मका विद्यार्थीहरूले आआफ्नो रुचिअनुसार पढेर त्यहीअनुसारको खजाना पाउन सक्ने देखिन्छ ।
यो महाकाव्य नेपनलका हरेक मान्छेले पढ्नु पर्ने गहन महाकाव्य हो भन्दा फरक पर्दैन । आकर्षक आवरण, गुणस्तरीय कागजले यसको बान्कीलाई सुन्दर पारेको देखिन्छ । पदयोग पदवियोग,सामान्य ह्रस्वदीर्घ, ब र वको प्रयोगजस्ता केही साना त्रुटिबाहेक खासै अरू भाषिक कमजोरी यसमा देखिँदैन ।
विभिन्न छब्बीस वटा शीर्षकमा विभक्त यस महाकाव्यलाई ऐश्वर्य प्रकाशनले बजारमा ल्याएको छ । पुस्तकको मोटाइअनुसार रुपैयाँ पाँच सय खासै धेरै मूल्य पनि होइन ।

वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’को विमोचन गरिएको छ ।
शनिबार राजधानीमा गरिएको कार्यक्रममा लेखक आचार्य र अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा उपन्यास विमोचन गरेका हुन् ।
हरिबहादुर उपन्यासमा समकालीन राजनीतिका विभिन्न घटनाक्रमको माध्यमबाट आममानिसको आकांक्षा र समाधानको उपाय प्रस्तुत् गरिएको छ ।
आगामी जेठ ५ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुस्तकयात्रा हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।

शरीरका प्रत्येक अंगले तपाईंको व्यक्तित्व उजागर गर्छन् । हातजस्तै खुट्टाले पनि तपाईंका बारेमा बताइदिन्छन् । तिनीहरूको आकारले व्यक्तित्व वर्णन गरिदिन्छन् ।
रोमन खुट्टो रोमन खुट्टो हुनेहरूको बूढी औंला र दोस्रो औंला उत्रै हुन्छन् । यस्तो खुट्टा भएका मानिस सामाजिक रूपमा घुलमिल गर्छन् र बाहिर जान मन पराउँछन् ।
लामो समयसम्म एकै ठाउँमा बस्न उनीहरू मन पराउँदैनन् । उनीहरू एड्भेन्चर गर्न, घुमघाम गर्न र अन्य संस्कृतिका बारेमा जान्न रुचाउँछन् ।
उनीहरू अनौठा हुन्छन् र आकर्षणको केन्द्र बनिरहन चाहन्छन् । व्यावसायिक रूपमा उनीहरू सफल हुन्छन् । उनीहरूको प्रेमजीवन पनि एकदमै तूफानी हुन्छ ।
लामो खुट्टा: यस्तो खुट्टा हुने मान्छेको औंला एकदमै सानो हुन्छ । यस्ता मान्छे रहस्य लुकाउन पोख्त हुन्छन् । तर यिनीहरूको दिमाग घरिघरि घुम्ने हुनाले आफ्नै लागि र अरूका लागि समस्या निम्त्याउँछन् । यिनीहरू प्रेमिकासँग गुँडुल्किएर रमाइलो गर्न मन पराउँछन् ।
ग्रिसेली खुट्टा: यस्तो खुट्टा हुने मान्छेको दोस्रो औंलो बूढी औंलोभन्दा ठूलो हुन्छ । यस्ता मान्छे आशावादी हुन्छन् र छिट्टै उत्साहित हुन्छन् । यिनीहरू तनाव लिइरहन्छन् र सामान्य खरिदारी पनि राम्ररी गर्न जान्दैनन् । तर यिनीहरू सहयोगी हुन्छन् । ओछ्यानमा यिनीहरू पार्टनरलाई पेल्छन् । कार्यालयमा पनि यिनीहरू हैकम देखाउँछन् ।
कृषक खुट्टा: यस्ता खुट्टा हुने मानिसका सबै औंला एउटै लम्बाइका हुन्छन् । उनीहरू भरपर्दा हुन्छन् । जे कुरा पनि क्रम मिलाएर राख्नुपर्ने अनि सफा हुनुपर्ने उनीहरूको मान्यता हुन्छ । यिनीहरू तार्किक रूपमा निर्णय गर्छन् ।
भावनाले यिनीहरूलाई डो-याउँदैन । यसबाहेक तपाईंले व्यक्तित्वको परीक्षणका लागि अर्को किसिमको खुट्टा
परीक्षण गर्न सक्नुहुन्छ ।
तपाईं कान्छी औंलालाई तन्काएर अरू औंलाबाट टाढा राख्न सक्नुहुन्छ भने रोमाञ्च मन पराउने किसिमको मान्छे हो । यस्ता मान्छेले अरूलाई ठग्न सक्छन् ।
तपाईं यसो गर्न सक्नुहुन्न भने तपाईं एकदमै एउटै मार्कामा चल्ने मान्छे हो । आफ्नो बानी तपाईं त्याग्न सक्नुहुन्न र परिवर्तनलाई मन नपराउने तपाईंको स्वभाव हो । एजेन्सी
तपाईं यसो गर्न सक्नुहुन्न भने तपाईं एकदमै एउटै मार्कामा चल्ने मान्छे हो । आफ्नो बानी तपाईं त्याग्न सक्नुहुन्न र परिवर्तनलाई मन नपराउने तपाईंको स्वभाव हो । एजेन्सी

