
- लण्डन ।
भारतलाई १ सय ८० रनको विशाल अन्तरले हराउँदै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधिमा कब्जा जमाएको छ ।
आइसीसीको कुनै पनि प्रतियोगिताको फाइनलमा कुनै टोलीले हासिल गरेको सबैभन्दा ठूलो अन्तरको जीत हो ।
जीतका लागि ३ सय ३९ रनको विशाल लक्ष्य पाएको भारत मात्र ३०.३ ओभरमा १ सय ५८ रनमा सिमित भयो ।
भारतलाई सस्तोमा समेट्न मोहमद आमिर र हसन अलीले घातक बलिङ गर्दै ३–३ विकेट लिए ।
कुनै समय ५ विकेटको क्षतिमा ५४ रनको दयनीय स्थितिमा रहेको भारतका लागि हार्दिक पाण्डेयले ७६ रन बनाउँदै सम्मानजक स्कोरतर्फ डोर्याएका थिए । उनीबाहेक कसैले ठूलो स्कोर बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको पाकिस्तानका लागि ओभर फकर जमानले शतकीय पारी खेलेपछि निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो ।
उनलाई अर्को ओपनर अजहर अलीले ५९ रन बनाउँदै राम्रो साथ दिए । दुवैले मिलेर पहिलो विकेटका लागि १२८ रन जोडे । अली रन आउट भएपछि जमानले बाबर आजमसँग मिलेर पाकिस्तानको इनिङ सम्हाले ।
पाकिस्तानको स्कोर २ सय रन हुँदा हार्दिक पाण्डे बलमा आउट हुनअघि जमानले १०६ बलमा ११४ रन बनाए । उनले यस क्रममा ३ छक्का र १२ चौका हिर्काए । आजमले ४६ रनको योगदान दिए ।
खेलको अन्त्यतिर मोहमद हाफिजले तिव्र गतिमा ४ चौका र ३ छक्का हिर्काए ५७ रन बनाउँदै पाकिस्तानलाई ३ सयको स्कोर कटाउन मद्दत गरे । भारतका लागि १० ओभरमा मात्र ४४ रन खर्चेर भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

- काठमाडौं ।
इंग्लिस क्लब म्यानचेष्टर सिटीले पोर्चुगलका मिडफिल्डर बर्नार्डो सिल्भालाई अनुबन्धित गरेको छ । यो सिजन उनी फ्रेन्स क्लब मोनाकोबाट खेलेका थिए ।
२२ वर्षका सिल्भाले आफू विश्वकै उत्कृष्ट मध्येको टिममा अनुबन्धित हुन पाएकोमा खुशी लागेको बताएका छन् । मोनाकाकोबाट ५८ खेल खेलेका उनले ११ गोल गरेका छन् ।
साथै १२ गोलको अवसर सिर्जना गरेका छन् । उनले पोर्चुगलका लागि १२ खेल खेलेका छन् । जसमा एक गोल गरेका छन् । उनी ४३ मिलियन यूरोमा सिटीमा अनुबन्धित भएका हुन् ।

- हैदरावाद ।
इन्डियन प्रिमियर लिग (आइपीएल) को १० औं शृंखला मुम्बई इन्डियन्सले कब्जा गरेको छ ।
आइतबार राति हैदरवादमा भएको फाइनल म्याचमा मुम्बईले राइजिङ पुणे सुपरजाइन्टलाई १ रनले पराजित गर्दै उपाधि हात पारेको हो । मुम्बईले आइपीएल उपाधि हात पारेको यो तेस्रो पटक हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले गतिलो शुरुवात गर्न सकेन । निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मुम्बईले १२९ रनमात्र बनाउन सक्यो ।
मुम्बईका लागि कुणाल पाण्ड्याले सर्वाधिक ४७ रन बनाए भने रोहित शर्माले २४, मिचेल जोन्सनले १३, अम्बाती रायडुले १२ र हार्दिक पाण्ड्याले १० रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।
पुणेका लागि जयदेव उन्डाकट, एडम जाम्पा र डानियल क्रिस्टियनले दुई–दुई विकेट लिए ।
१ सय ३० रनको सामान्य विजय लक्ष्य पाएको पुणेले प्रारम्भिक ब्याट्सम्यान राहुललाई चाँडै गुमाए पनि अजिन्य रहाणे र स्टेभन स्मिथले सम्हालिएर ब्याटिङ गर्दै स्कोर बोर्डमा दबाब पर्न दिएनन् ।
रहाणेले ४४ र स्मिथले ५१ रन बनाए । तर त्यसपछि पुणेका लागि महेन्द्र सिंह धोनीले १० रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर गर्न सकेनन् ।
पुणेलाई अन्तिम ओभरमा जितका लागि ११ रन आवश्यक थियो । मुम्बईका लागि मिचेल जोन्सनले बलिङको जिम्मेवारी सम्हालेका थिए । पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गरेपछि मुम्बई झन दबाबमा आएको थियो ।
तर अनुभवी बलर जोन्सनले दोस्रो बल मै तिवारीलाई पवेलियन फर्काइदिए । रोमाञ्चक बनिरहेको खेलमा तेस्रो बलमै जोन्सनले क्रिजमा निकै जमिसकेका ब्याट्सम्यान स्मिथलाई पनि आउट गरे ।
चौथो बलमा केवल एक रन बन्यो भने पाँचौं बलमा दुई रनमात्र बन्न सक्यो । अन्तिम बलमा जितका लागि चौका आवश्यक थियो । तर त्यो बलमा पनि दुई रनमात्र बन्न सक्यो ।
२०७४ जेठ ८ गते प्रकाशित

- म्याड्रिड (एजेन्सी)
रियल म्याड्रिडले ५ वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। आइतबार राती (नेपाली समयअनुसार सोमबार बिहान) सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले २ मिनेटमा गरेको गोलका कारण मालागालाई उसैको मैदानमा २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो।
रियललाई उपाधिका लागि १ अंक मात्र आवश्यक थियो। बार्सिलोनाले अर्को खेलमा एइबारलाई ४–२ ले पराजित गरेपनि रियलले ३ अंकको स्पष्ट अग्रता बनाउदै २०१२ पछि स्पेनिस ला लिगाको उपाधि जित्यो।
रियललाई उपाधि दिलाउन रोनाल्डोबाहेक करिम बेन्जेमाले ५५ मिनेटमा अर्को गोल थपे। रियलले यो सिजन ३८ खेलमा ८३ अंक जोडेको छ। बार्सिलोना भने ८० अंक जोड्दै दोस्रो स्थानमा रहयो।
बार्सिलोनाले अन्तिम खेलमा लिओनल मेसीको २ गोलमा एइबारलाई पराजित गर्यो। पहिलो हाफमा १ गोलले अग्रता बनाएको एइबारविरुद्ध मेसीले ७५ मिनेटमा पेनाल्टी र ९० पछि थप गरिएको दोस्रो मिनेटमा गोल गरेका थिए।
टाकासी इनुले खेल सुरु भएको ७ र ६१ मिनेटमै गोल गर्दै बार्सिलोनालाई स्तब्ध तुलाउने प्रयास गरे। तर, डेभिड जुन्काको आत्मघाती गोलबाट सुरु भएको दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट पुनरागमन गर्यो।
कापा ६७ मिनेटमा रातो कार्ड पाएको अवस्थामा लुइस सुआरेजको गोलमा ७३ मिनेटमा बराबरी गोल गर्न सफल भयो। पछि निर्णायक २ गोल मेसीले गरे।
स्पेनिस ला लिगाको बाजी रियल म्याड्रिड र बार्सिलोनामध्ये कसले मार्ने हो? यसको निर्णय आज राती हुने भिन्दा भिन्दै भिड्न्तपछि टुँगो लाग्नेछ।
स्पेनिस ला लिगाको निर्णायक खेलअन्तर्गत रियलले आज राती ११ बजेर ४५ मिनेटमा मालागा क्लबको घरेलु मैदान ला रोसालेडामा खेल्दैछ। रियल ३७ खेलमा ९० अंक जोडेर शीर्ष स्थानमा छ।
रियललाई अंक तालिकामा पछ्याइरहेको बार्सिलोनाको ३७ खेलबाट ८७ अंक छ। ऊ ३ अंकले मात्र आफ्नो प्रतिद्वन्दीभन्दा पछाडि छ। आज राती सोही समयमा बार्सिलोना आफ्नो घरेलु मैदान क्याम्प नोउमा एइबारविरुद्ध खेल्दैछ।
रियल म्याड्रिड लिगको मध्यमा रहेको मालागासँग पराजित भए र बार्सिलोनाले लिगको आठौं स्थानमा रहेको एइबारलाई पराजित गरेको खण्डमा मात्र बार्सिलोनालगातार तेस्रो पल्ट उपाधि जित्न सफल हुनेछ।
रियल आज बराबरीमा खेल राखे मात्र उपाधि जित्न सफल हुनेछ। जोसे माउरिन्होको प्रशिक्षणमा रियलले पछिल्लो पल्ट २०१२ मा घरेलु उपाधि जितेको थियो। यतिबेला जिनेदिन जिदानको प्रशिक्षणमा रियल ५ वर्षपछि उपाधि जितको नजिक छ।
बार्सिलोना भने २०१५ देखि ला लिगा विजेता हो। उसलाई यसपालि एक खेल बाँकी रहेको अवस्थामा रियलले अंक तालिकामा उछिनेको छ। आज बार्सिलोनाका प्रशिक्षक लुइस एनरिकको क्याम्प नोउमा अन्तिम खेल पनि हो। उनले यसअघि नै सिजनको अन्त्यमा सन्यासको घोषणा गरिसकेका छन्।
३ वर्षअघि बार्सिलोनाको प्रशिक्षक नियुक्त भएका एनरिकले यस अवधिमा क्याटलान क्लबलाई २ वटा घरेलु उपाधि र एउटा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए। तर, अन्तिम वर्ष उनी उपाधि बिहिन बन्ने सम्भावना बलियो छ। आज बार्सिलोनाले उपाधि जितेको खण्डमा उनको लागि ठूलो उपहार हुनेछ।
इङ्लिस फुटबलमा आजको दिन ३ क्लबका लागि महत्वपूर्ण मानिएको छ। म्यानचेस्टर सिटी, लिभरपुल र आर्सनलका लागि युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा प्रवेश पाउन आजको खेल निकै महत्वपूर्ण छ।
यी ३ मध्ये २ क्लब छानिएर आगामी वर्षका लागि च्याम्पियन्स लिगमा समावेश हुनेछन्। त्यसैले आज राती यिनीहरुले खेल्ने भिन्दा भिन्दै खेल रोचक बन्न पुगेको छ। बार्सिलोनाका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा पहिलो पल्ट खेलिरहेको म्यानचेस्टर सिटी आज वार्टफोर्डविरुद्ध भिड्दै छ।
ग्वार्डिओलाको नेतृत्वमा सिटीले कुनै उपाधि नजितेपनि अन्तिम खेललाई बराबरीमा रोखेर एक अंक मात्र जुटाउन सफल भएको खण्डमा च्याम्पियन्स लिगमा प्रवेश गर्नेछ। सिटीले खेल जितेको खण्डमा ऊ प्रिमियर लिगको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट हुनेछ।
लिभरपुल पनि आजको खेलमा मिड्ल्सब्रोगलाई पराजित गरेको खण्डमा चौथो स्थानमा रहनेछ। तर, यी दुइ टोलीमध्ये एक पराजित भएको खण्डमा र आफूले खेल जितेको खण्डमा आर्सनलको पनि च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना प्रबल छ। आर्सनल इभर्टनविरुद्ध इमिरेट्स रंगशालामा खेल्दैछ।
प्रिमियर लिगमा शीर्ष ३ स्थान बनाउने क्लब सिधै च्याम्पियन्स लिगमा प्रवेश गर्ने प्रावधान छ। चौथो टिमले भने आउँदो अगस्टमा होम एन्ड अवेको आधारमा प्ले–अफ खेल्न पाउनेछ। पाँचौ स्थानको टोलीले भने युरोपा लिग खेल्न पाउने प्रावधान छ।

- काठमाडौं ।
विश्व फुटबला चर्चित हस्तिहरू लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई विस्थापित गर्न सक्ने तीन खेलाडीको नाम सार्वजनिक भएको छ ।
गत १० वर्षदेखि उत्कृष्ट खेलाडी अवार्डमा मेस्सी र रोनाल्डोको दबाब रहँदै आएको छ ।
चेल्सीका २६ बर्षिय इडन हजार्डले स्काई स्पोर्टससँगको कुराकानीमा उनले भने ‘एक दिन मैले पनि बालोन डी’ओर जित्छु भन्ने आशा छ, तर नजिते पनि कुनै समस्या छैन ।’ आफ्नो करिअर राम्रो बनाउन प्रयास गर्ने र अरु खेलाडी पनि त्यसका लागि तयार रहेको उनले बताए ।
रोनाल्डो र मेस्सी सन्यास लिएपछिका केही वर्ष उत्कृष्ट खेलाडीको होडमा नेइमार, पाउल पोग्बा र एन्टोनी ग्रिजम्यान रहने उनको भनाई छ । यस्तै अर्जेन्टिनाका पाउलो डिबाला पनि राम्रो खेलाडी रहेको हजार्डको भनाई छ ।
२०७४ बैसख ३० मा प्रकाशित ।

प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय पुरुष क्रीकेट प्रतियोगिता हुने भएको छ। राजधानीमा बिहिबार पत्रकार सम्मेलन गर्दै यो जानकारी गराईएको हो।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरको ब्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो।
आगामी जेष्ठ ९ देखी २४ गते सम्म हुने प्रतियोगिता किर्तिपुर स्थित अन्र्तरास्ट्रिय क्रिकेट मैदानमा हुनेछ।
नेपाली घरेलु क्रिकेटकै सर्बाधिक धनराशीको यो प्रतिस्पर्धामा बिजेता टोलीले २० लाख र उपबिजेताले १० लाख रुपैया पाउने छन्।
उक्त प्रतियोगितामा ५ बिकास क्षेत्र र ३ वटा बिभागिय क्रिकेट टोलीको सहभागीता रहनेछ।

साबिक विजेता रियाल मड्रिड, च्याम्पियन्स लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । सेमिफाईनलको दोस्रो लेगमा सहरी प्रतिद्धन्दी एट्लेटिको मड्रिडसंग २–१ ले पराजित भएपनि समग्रमा ४–२ को नतिजा सहित रियलले उपाधी भिडन्त पक्का गरेको हो ।
पहिलो लेगमा उसले ३–० को जित निकालेको थियो । घरेलु मैदानमा रियाललाई सूरुवाती मिनेटदेखिनै दबाबमा राखेको एट्लेटिकोले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा फर्कने संकेत गरेको थियो ।
१२ औ मिनेटमा साउल नेग्युजको हेडर गोल मार्फत अग्रता बनाएको एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यानले १६ औ मिनेटमा पेनाल्टीमा गोल गरे । तर पहिलो हाफ सकिन ३ मिनेट बाकी छदा रियालका लागी मिडफिल्डर इस्कोले गोल गर्दै एट्लेटिकाको च्याम्पियन्स लिग यात्रालाई कठिन मोडमा पुर्याए ।
रियालले प्रतियोगिताको उपाधि रक्षाका लागि अर्को महिना सिरि ए क्लब युभेन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ ।

ईङ्लीस प्रेमियर लिग फुटवलमा आज राती आर्सनल र साउथह्याप्टनबीच प्रतिस्पर्धा हुँदैछ । साउथह्याप्टनको गृहमैदान सेन्ट म्यारिज स्टेडियममा उत्रदा आर्सनलसँग एउटै लक्ष्य हुनेछ, च्याम्पियन्स लिगको आगामी सिजनमा छनौट हुने ।
उपाधि होडबाट बाहिरिसकेको आर्सनल शीर्ष चार भित्र पर्दै च्याम्पियन्स लिग फुटवलको आगामी सिजनका लागि छनौट हुने उद्धेश्यका साथ मैदान उत्रनेछ ।
आर्सनल ३४ खेलबाट ६३ अंकमा छैठौं स्थानमा छ । गत आइतवार भएको खेलमा म्यानचेष्टर युनाईटेडविरुद्ध २–० को जित निकालेको आर्सनल आजको खेलमा केही आत्मबिश्वासी देखिनेछ । यद्यपी आज राती हुने खेल बराबरीमा मात्र टुंगिएपनि आर्सनलको शीर्ष चार भित्र पर्ने योजना कठिन बन्नेछ ।
जारी सिजन चार खेल खेल्न बांकी रहेको आर्सनलले साउथह्याप्टनसहित स्टोक सिटी, सण्डरल्याण्ड र एभरटनसँग प्रतिस्पर्धा गर्न बाँकी छ । आर्सनललाई उत्कृष्ट चार भित्र पर्न तेस्रो स्थानको लिभरपुल, चौथो स्थानको म्यानचेष्टर सिटी र पांचौ स्थानमा रहेको म्यानचेष्टर युनाईटेडलाई उछिन्न पर्नेछ ।
यद्यपी तीनै टोलीको बांकी प्रतिस्पर्धा समेत कमजोर प्रतिद्वन्दीसँग भएकाले एक खेलमात्रको हार वा बराबरीमात्र पनि आर्सनलका लागि टाउको दुखाई बन्न सक्नेछ ।
उपाधिबाट मात्र एक जित टाढा रहेको चेल्सी र ७७ अंकमा दोस्रो स्थानमा रहेको टटनहामलाई भने सवै खेल जितेपनि आर्सनलले भेट्टाउने छैन ।
रेलिगेशनबाट जोगिसकेको साउथ ह्याप्टनका लागि भने आजको खेल स्थिति सुधारका लागि मौका मात्र हुनेछ । ऊ ४२ अंकमा दशौं स्थानमा छ ।

