
- सोलुखुम्बु ।
ने.क.पा. (माओवादी केन्द्र) सोताङ र महाकुलुङ गाउँपालिकाले संयुक्त रुपमा सोताङमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले स्थानीय तह निर्वाचनलाई जनसरकारको निर्वाचन भएको बताएका छन् ।
जनताका प्रतिनिधिले सरकार चलाउनुपर्छ भन्दा कांग्रेस एमालेले मानेनन्
सभालाई सम्बोधन गर्दै प्रचण्डले आफुले जनयुद्धको समयमा सञ्चालन गर्न खोजेको जनसरकार पनी अहिले स्थानीय तह सरकार जस्तै भएको बताएका छन् ।
उनले भने ‘हिजो हामीले जनयुद्ध लड्यौं, जनताका आफ्नै प्रतिनिधिले आफ्नो सरकार चलाउनुपर्छ भन्यौं, त्यो बेला कांग्रेस, एमाले लगायतका पार्टीहरुले मानेनन् । अहिले सिंहदरबारको अधिकार गाउँ, नगरमा आएको छ । अहिले सम्पन्न भएको निर्वाचन कुनै गाउँ पञ्चायत वा गाउँ विकास समितिको निर्वाचन होइन । एक अर्थमा भन्दा यो जनसरकारको निर्वाचन हो ।'
प्रचण्डले यो निर्वाचनमा कुन पार्टीले जित्यो वा जितेन, त्यो ठूलो कुरा नभएर जनताले जितेको बताएका छन् । 'गाउँ–गाउँमा सरकार आएको छ । हिजो जनताको घरआँगनमा सरकार बन्नुपर्छ भन्दा आतङ्ककारी देख्ने कांग्रेस एमाले लगायतका पार्टीहरु पनि अहिले जनसरकारमा आएका छन् ।' उनले भने ।
आफ्नो सरकारले नमूनायोग्य काम गरेको दाबी
यस्तै प्रचण्डले चुनौतिपूर्ण समयमा बनेको आफ्न्नो नेतृत्वको सरकारले नमूनायोग्य काम गरेकोबताएका छन् । उनले भने, ‘म प्रधानमन्त्री बन्दै थिएँ, एकथरि मान्छेहरु विदेशीको ईशारामा प्रचण्ड प्रधानमन्त्री बन्यो भनेर हल्ला गर्दै थिए । संविधान कार्यान्वयन नगर्न, चुनाव हुन नदिन, फास्ट ट्रयाक बेच्न, चीनसँग भएका सम्झौता कार्यान्वयन नगर्न, विकास र समृद्धिलाई अवरुद्ध गर्न प्रचण्ड आएको भन्दै हल्ला गर्दै थिए । तर, हामीले कामले त्यसलाई गलत सावित गरेरै छोड्यौं ।'
आफु प्रधानमन्त्री नभएको भए देशमा यी ७ कुरा सम्भब थिएन
प्रचण्डले आफु प्रधानमन्त्री भएका कारण देशमा ७ वटा महत्वपूर्ण कुराहरु भएको बताएका छन्। उनले आफु प्रधानमन्त्री भएका कारण देशको राष्ट्रिय एकता जोगिएको बताएका छन्।
आफु प्रधानमन्त्री भएकै कारण नेपालमा फास्ट ट्रयाक बन्ने बाताबरण बनेको, भारत र चीनबीच सन्तुलित सम्बन्ध बनेको, १८ घण्टासम्मको लोडसेडिङ अन्त्यभएको, ०.८% मा रहेको आर्थिक बृद्धिदर ७.५%पुगेको, विकास आयोजनाहरुले तिब्रता पाएको, विदेशमा रहेका नेपालीहरुले आफ्नै सरकारको अनुभूति गरेको बताएका छन्।
यस्तै प्रचण्डले आफिहरुले भाषण र गफले होइन, कामले देशको प्रतिष्ठा जोगाएको बताएका छन् । आफु प्रधानमन्त्री पदमा रहँदा संविधान कार्यान्वयन, विकास र समृद्धिमा ध्यान केन्द्रित गरेको बताउँदै प्रचण्डले माओवादी पार्टीले जित्छ कि हार्छ ? त्यसमा बिलकूल चासों नराखेको बताएका छन् ।
प्रदेश र संघमा माओवादी पहिलो पार्टी बन्छ
प्रचण्डले अबको ध्यान पार्टी निर्माणमा दिने र प्रदेश तथा सङ्घको निर्वाचनसम्म माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने संकल्प गरेको बताएका छन्। उनले अरुले कुहेको पीठो बेचिरहेका र आफुले गुणस्तरीय चामल बेचिरहेको हुनाले जनताले माओवादी केन्द्रलाई फेरी पहिलो पार्टी बनाउने बताएका छन् ।
सम्पूर्ण देश, कांग्रेसका अधिकांश नेताहरु र प्रतिपक्षी दलले समेत राजीनामा नदिन आग्रह गरे पनि राजनीतिमा नैतिकता र ईमान हुन्छ भन्ने तथ्य स्थापित गर्न आफूले स्वेच्छाले राजीनामा दिएर मूल्य मान्यताको संस्कार बसालेको प्रचण्डले बताए ।
जनसभालाई माओवादी केन्द्र सोताङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सैमान राई, महाकुलुङ गाउँपालिकाका अध्यक्षका उम्मेदवार सागर किराँती लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
कांग्रेस एमाले परित्याग गरी १ सय बढी माओवादीमा प्रवेश
यस्ती सोलुखुम्बुको सोताङ गाउँपालिकाका कांग्रेस पार्टी सभापति ईन्द्रकुमार राई र एमालेबाट टेकबहादुर राईसहितका ७० जना कांग्रेस र १ दर्जन एमाले कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
शुक्रबार सोताङमा आयोजित माओवादी केन्द्रको जनसभाका क्रममा कांग्रेस नेता राईसहितका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी राई चालीस वर्ष लामो राजनीतिक इतिहास बोकेका पूर्व गाबिस अध्यक्ष तथा हाल नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सभापति हुन् । राईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी प्रवेश गराएका छन् ।

- काठमाडौँ ।
त्रास बिरोध र आतंकका बाबजुद पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको छ । देशभर हत्या, आतंक, बम बिस्पोट, अपहरण र झडपका बीच ३४ जिल्लामा सम्पन्न निर्वाचनमा ३५ देखी ४० प्रतिसत मत खसेको राजनीतिज्ञहरुको अनुमान छ।
यता निर्वाचन आयोगले भने पहिलो चरण भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको दाबी गरेको छ । साथै आतंक भय र त्रासमय बातावरणमा सम्पन्न निर्वाचनलाइ आयोगले शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताएको छ।
निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिएको हो । यद्दपी यसको स्वतन्त्र पुष्टी भने भएको छैन ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको बताएका छन् ।
आयोगले काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको जानकारी दिएको छ ।
दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ । तर काभ्रेको नमोबुद्धमा प्रहरीको गोली लागी मारिएका नबराज पाठक र दोलखामा मारिएका एमाले कार्यकर्ताको बारेमा भने आयोग बोलेको छैन।
मतदान सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उनले जानकारी दिए।
पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भएपनि आज २८१ स्थानमा मात्रै मतदान भएको थियो ।
मतदाताले व्यक्त गरेको मतलाई लिएर उत्तेजनामा नआउन, संयमता प्रदर्शन गर्न र लोकतान्त्रिक पद्धति र प्रक्रियाप्रतिको प्रतिबद्धतालाई पुनः अभिव्यक्त गर्न आयोगले सबै सरोकारवालासँग अनुरोध गरेको छ ।
यस्तै स्थानीय निर्वाचनका क्रममा मतदान अघि र पछि गरि काभ्रे, दोलखा, तनहुँसहित ३ जनाको मृत्यु भएको छ भने देशभर चुनावका क्रममा भएका झडपमा परी ४ दर्जन भन्दा बढी घाइते भएका छन् । सयौको संख्यामा गिरप्तारी र धरपकड भएको छ।
२०७४ बैशाख ३१ गते प्रकाशित

- चितवन ।
कालिका नगरपालिका–११ मा खुल्लातर्फको सदस्य पदका उम्मेदवार ३८ वर्षीय सिफल चेपाङको चट्याङ लागेर मृत्यु भएको हो।
गएराति तीन बजेतिर परेको चट्याङ लागेर घाइते भएका चेपाङको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।
उम्मेदवारको निधनपछि कालिका नगरपालिकाको निर्वाचन स्थगित भएको छ। उम्मेदवारको निधन भएपछि निर्वाचन कार्यक्रम स्थगित गरेर आयोगलाई जानकारी गराएको निर्वाचन अधिकृत नेत्रप्रसाद शर्माले जानकारी दिए।
शर्माका अनुसार अन्तिम नामावली प्रकाशन भएपछि उम्मेदवारको निधन भए निर्वाचनका सबै कार्यक्रम स्थगित हुने प्रावधान रहेको छ। स्थानीय तह निर्वाचन निर्देशिका २०७३ को दफा ६० बमोजिम निर्वाचन स्थगित गरिएको हो।

