के तपाईलाई महिनावारी सम्बन्धी यी ५ तथ्य थाहा छ ? छैन भने पढ्नुहोस्


के तपाईंलाई महिनावारी सम्बन्धी सबै तथ्यको जानकारी छ? औसतमा एउटी महिला आफ्नो जीवनभर चार सय ५० पल्ट महिनावारी हुन्छिन्। यति धेरै पटकको महिनावारीमा महिलाले त्यसबारे पर्याप्त जानकारी पाउने समय हुँदाहुँदै पनि महिनावारी बारे कतिपय तथ्यले चकित पार्न सक्छ। जानी राख्नुहोस् महिनावारी सम्बन्धी यस्ता पाँच तथ्यः

१. महिनावारीका बेला पनि गर्भ रहन सक्छः 

युगौं पुरानो भनाइ चटक्कै बिर्सिदिनुहोेस् र याद राख्नुहोस् कि महिनावारीका बेला पनि तपाईं गर्भवती हुन सक्नुहुन्छ। यसका केही कारण छन्। पहिलो, महिनैपिच्छे डिम्बासयले डिम्बा निष्क्रमण गर्दा (ओभुलेसन हुँदा) केही महिलामा रगत आउँछ, यसलाई झुक्किएर महिलाले महिनावारी मान्न सक्छन्। डिम्ब निष्क्रमण हुँदाको समय महिलाको प्रजनन् क्षमता सर्वाधिक हुने हुँदा यसबेला गर्भवती हुने सम्भावना अत्यधिक हुन्छ। त्यसैले यस्तो बेला यौन सम्पर्क गर्दा गर्भ रहन सक्छ।

दोस्रो, कुनै महिलाको महिनावारी भइसकेपछि वा रगत आउन रोकिएको केही दिनपछि डिम्बा निष्क्रमण हुन सक्छ। महिलाको शरीरभित्र शुक्रकीट ३ दिनसम्म जीवित÷सक्रिय हुने भएकाले महिनावारीका बेला गरिने यौन सम्पर्कबाट गर्भवती हुने सम्भावना रहन्छ।

२. पिल्स (गर्भ निरोधक चक्की) खाएका बेला हुने महिनावारी वास्तविक होइनः 

पिल्स खाएका बेला पनि महिलालाई रगत आउँछ, तर त्यो महिनावारी भने होइन। सामान्य अवस्थाको महिनावारीभन्दा पिल्स खाएका बेलाको महिनावारी फरक छ। किनभने ३ साता हर्मोनयुक्त पिल्स खाँदा त्यसले डिम्बासयबाट डिम्बा निष्क्रमण हुन दिँदैन तर महिलाको शरीरले डिम्बा निष्क्रमण नभए पनि त्यसको तयारी गरिरहेको हुन्छ। फलस्वरुप हर्मोनको लेभल शरीरमा घट्छ। चौथो साता हर्मोनबिनाको चक्की खाँदा गर्भाशयभित्र रक्तस्राव हुन्छ र त्यसलाई महिलाले महिनावारी भएको मान्छन्।

३. जीवनभर महिनावारी परिवर्तन भइरहन्छः 

जब तपाईंलाई अब म यतिबेला महिनावारी हुन्छु भनेर अनुमान गर्न सक्छु भन्ने लाग्छ, त्यतिबेलै फेरि सबै कुरा परिवर्तन हुन सक्छ। यसो हुनुको एकमात्र कारण महिलाको शरीरमा निरन्तर परिवर्तन भइरहने हर्मोनको मात्रा हो। र, तपाईंले हेक्का राख्नुपर्ने कुरा के हो भने तपाईंको जीवनभर नै हर्मोनको मात्रा परिवर्तन भइरहन्छ।

कुनै महिलामा महिनावारी सुरु हुँदाका बेला महिनावारी चक्र लामो हुन सक्छ। अर्थात् दुई महिनावारीबीच लामो समयको फरक हुन सक्छ। सामान्यतया किशोरीहरूको दुई महिनावारीको फरक २१ देखि ४५ दिनसम्म हुन सक्छ। तर, उमेर बढ्दै जाँदा फरक घद्दै गएर २१ दिनदेखि ३५ दिनसम्म हुन सक्छ।

अझ ‘पेरिमेनोपज’ (महिनावारी सुक्ने ‘मेनोपज’ अघिका वर्षहरू) महिलामा हर्मोनको मात्रामा धेरै परिवर्तन हुन्छ। शरीरमा ‘एस्ट्रोजन’ हर्मोनको कमीले तपाईं चकित पर्न सक्नु हुन्छ। महिनावारी वर या पर सर्न सक्छ। त्यस्तै, दिन पनि अघि–पछि हुन सक्छ, रगत बढी वा थोरै जान सक्छ। मेनोपज हुनुअघि पेरिमेनोपजको समय १० वर्षसम्म पनि हुन सक्छ।

यस्ता परिवर्तन बिस्तारै हुनु सामान्य हो। तर, एक्कासी अत्यधिक रक्तस्राव भएमा वा महिनावारी धेरै अघि–पछि भएमा (असामान्य रुपमा अनियमित) चिकित्सकसँग परामर्श गर्नुपर्छ।

४. ‘स्यानिटरी प्याड’ र ‘टेम्पन्स’ मात्र विकल्प होइनन्ः 

महिनावारीका बेला सफा रहन स्यानिटरी प्याड र टेम्पन्स मात्र विकल्प होइनन्। तपाईं अन्य विकल्प पनि प्रयोग गर्न सक्नुहुन्छ। बजारमा पाइने ‘मेन्स्ट्रुअल कप’ पनि यसको विकल्प हुन सक्छ। साथ, ‘पिरियड प्यान्टी’ र फेरि प्रयोग गर्न मिल्ने कपडाका प्याड (क्लोथ प्याड) पनि विकल्प हुन सक्छन्।

यीमध्ये पुनः प्रयोग गर्न सकिने भएकाले किफायती र फोहोर पनि थोरै हुन्छ। कुनै–कुनैले लामो समयसम्म तपाईंलाई राहत दिन र सुरक्षित राख्न सक्छन्। यी सबैका फरक–फरक फाइदा र बेफाइदा छन्, त्यसैले आफूलाई उपयुक्त हुने विकल्प रोज्न सक्नुहुन्छ।

५. ‘पिएमएस’ अझै पनि रहस्यमयः 

महिनावारी सुरु हुनुभन्दा एक–दुई साताअघि कतिपय महिलामा अल्छीपन, सुन्निने/फुल्ने, छिनछिनमा मनोदशा फेरिने, यौनको उत्कट इच्छा जाग्ने जस्ता लक्षण देखिन सक्छन्। हरेक महिला अरुभन्दा फरक हुन्छिन्, तर पिएमएस (प्रि–मेन्स्ट्रुअल सिन्ड्रोम) भने अधिकांश महिलाको जीवनमा तीतो यथार्थ हो।

पिएमएस अर्थात् महिनावारी पूर्व महिलामा देखिने लक्षणबारे चिकित्सकहरू पनि खासै केही बताउन सक्दैनन्। अहिलेसम्म यसबारे पर्याप्त अनुसन्धान भइसकेको छैन। सम्भवतः महिनावारीका बेला हर्मोनमा हुने परिवर्तन, मस्तिष्कमा हुने रासायनिक परिवर्तन र अन्य भावनात्मक परिवर्तन एकै पटक हुँदाको प्रभाव स्वरुप डिप्रेसन आउन सक्छ र यसले पिएमएस अनुभूतिलाई अझ खराब पार्न सक्छ।

महिनावारी भएका बेलासमेत यी लक्षण रहिरहन सक्छन्। एउटा अध्ययनले महिनावारीका बेला मांसपेशी बाउँडिने, सुन्निने/फुल्ने, ढाडको दुखाइ, टाउको दुख्ने आदिले चिन्तन/सोचमा पनि असर पार्ने देखायो। किनभने दुखाइले काममा, सोचविचारमा एकाग्रता भंग गर्छ। सबै महिलालाई यस्तो अनुभव हुन्छ, तर केही गर्नै नसक्ने भने होइन, अलि बढी कष्ट गर्नुपर्ने हुन सक्छ।

पिएमएस सम्बन्धी कष्टबाट मुक्ति पाउने सर्वोत्तम उपाय भनेको जीवनशैली परिवर्तन गर्नु हो। यसका लागि नियमित आधा घन्टा व्यायाम गर्ने, राति ८ घन्टा सुत्ने, धूमपान नगर्ने, अल्कोहल सेवन नगर्ने र समयमा सन्तुलित भोजन गर्नुपर्छ। भोजनमा फलफूल, हरिया सागसब्जी र खाद्यान्नको मात्रा बढी र नुन, चिनी, क्याफिन र अल्कोहलको मात्रा भने सकेसम्म न्यून हुनु उत्तम हुन्छ।

तपाईंको दैनिक जीवनयापनमा पिएमएसले असर पारे, डिप्रेसन वा एन्जाइटीका लक्षण देखिए चिकित्सकसँग परामर्श गर्नु उचित हुन्छ। यसभन्दा पनि गम्भीर अवस्था मानिने पिएमडिडी (प्रि–मेन्स्ट्रुअल डिस्फोरिक डिस्अर्डर) भए उपचार नै गर्नुपर्ने हुन्छ। 

स्वास्थ्य खवरबाट

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More