जेठाजुका लागि उम्मेदवारी फिर्ता नलिएपछि श्रीमानबाटै कुटिइन् पद्मा
कास्कीको रुपा गाउँपालिका वडा नम्बर ५ की महिला सदस्य उम्मेदवार श्रीमानबाटै कुटिएकी छन्। माओबादी केन्द्रको तर्फबाट महिला सदस्य उम्मेदवार पद्मा क्षेत्री गुरुङलाई श्रीमान यामबहादुर गुरुङले कुटपिट गरेका हुन्।
उम्मेदवारी फिर्ता नगरेको आरोपमा श्रीमान याम बहादुरले कुटपिट गरेका हुन्। एमाले उम्मेदवारको पक्षमा उम्मेदवारी फिर्ता गर्न दबाब दिएका श्रीमानले फिर्ता नलिएपछि कुटपिट गरेको उनले बताइन्।
रुपा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षका एमाले उम्मेदवार टेकबहादुर गुरुङको निर्देशनमा याम बहादुरले श्रीमती पद्मालाई कुटपिट गरेका हुन्। टेकबहादुर पद्माका जेठाजु हुन्।
पद्माको टाउकोमा गम्भीर चोट लागेको छ भने दाहिने हात भाँच्चिएको छ। उनको पोखराको फेवासिटी हस्पिटलमा उपचार भइरहेको छ। पद्माको हात अप्रेसन गरेर फलामे रड हाल्नुपर्ने भएको छ भने टाउकोमा ४ वटा टाँका लगाइएको छ।
१२ वर्षअघि उनीहरुले अन्तरजातीय विवाह गरेका थिए। उनीहरुका १ छोरा, २ छोरी छन्। पार्टीका कारणले दम्पत्तिबीच खटपट हुने गरेको थियो। उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाएकी छन्।
एमाले निकटका श्रीमानले आफू माओवादी केन्द्रबाट उम्मेदवार बनेपछि कुटाइ खानुपरेको उनले बताइन्। श्रीमानले पहिलेदेखि नै उम्मेदवारी फिर्ता लिनका लागि धम्की दिने गरेको पद्माको आरोप छ।
बुधबार दिउँसो सासुससुराको घरमा पुजाको बेला श्रीमान–श्रीमतीबीच उम्मेदवारीकै विषयमा खटपट परेपछि घरमा आएर कुटपिट गरेको उनले बताएकी छन्।
उनका श्रीमान भूतपूर्व नेपाली सैनिक हुन्। अर्घाखाँची माइती भएकी खड्काको परिवार माओवादी केन्द्र निकट भएको र आफू पनि माओवादी केन्द्र निकट रहेकाले उम्मेदवारी दिएको उनको भनाइ थियो।
‘तपाईं दाजु टेकबहादुरलाई जिताउन लाग्नुस्, म आफ्नो तरिकाले चुनाव लड्छुभन्दा पहिले तलाई मार्दिन्छु भन्दै जाइ लागे,’ उनले भनिन्। घर पुगेर कोठामा पस्ने बित्तिकै टेकबहादुरले घाँटी थिचेर मार्ने कोशिष गरेको र आफू उम्किएर बाँच्न सफल भएको पद्माले बताइन्।
दिउँसो नजिकैको झाडीमा लुकेर राती घर पुग्दा बाँसको चिर्पटले टाउकोमा ३ पटक र ढाड तथा हातमा प्रहार गर्दा आफू घाइते भएको बताइन्।
कुनैपनि हालतमा उम्मेद्वारी फिर्ता नलिने अडानमा रहेकी पद्माले आफूलाई चुनाव लड्ने वातावरण मिलाइदिन आग्रह गरेकी छिन्।