यातायात व्यवस्था कार्यालय लहानमा बिस्फोट
अज्ञात समूहले बिहीबार दिउँसो सिरहाको लहानस्थित सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा प्रेसर कुकर बम विस्फोट गराएको छ।
दिउँसो १ बजेतिर ठूलो आवाजसहित भएको बम विस्फोटमा कुनै मानवीय क्षति नभए पनि कार्यालयको शौचालय भित्ता र झ्यालका सिसा यत्रतत्र छरिएका छन्।
बम विस्फोटबाट कार्यालयका भित्तासमेत चर्किएका छन्। कार्यालयको माथिल्लो तलामा रहेको शौचालयमा बम विस्फोट भएको प्रहरीले जनाएको छ।
सेवाग्राहीको भीड लाग्ने सो कार्यालयमा बम विस्फोट हुँदा सेवाग्राहीमा भागदौड मच्चिएको थियो।
बम विस्फोटन पछि कार्यालयका सम्पूर्ण कामकाज ठप्प भएको छ भने व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ सो कार्यालयका प्रमुख ओमकारप्रसाद न्यौपानेले दिउँसो आफ्नो कक्षामा कार्यालयका कर्मचारीसँग छलफल गरिरहेका बेला एक्कासि ठूलो बम विस्फोट भएको बताए।
कुनै पनि समूहबाट चन्दालगायतको धम्की नआएकाले किन र कसले बम विस्फोट गराएको हो ? यसबारे आफू अनभिज्ञ रहेको प्रमुख न्यौपानेले बताए।
यता इप्रका, लहानका प्रहरी नायब उपरीक्षक हिराबहादुर पाण्डेले विस्फोट गराउने समूहको खोजी भइरहेको बताए। विस्फोटपछि लहानको अवस्था त्रस्त छ। विस्फोटको जिम्मा हालसम्म कसैले लिएको छैन।