सरकार हस्तान्तरण गर्न प्रधानमन्त्रीका ४ तयारी, सरकार फेर्न दिन्नौ : राजपा


  • काठमाडौँ ।
सरकारका उपलब्धि सदनलाई जानकारी गराउने

प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको सरकारले गरेका उपलब्धिबारे ४ देखि ७ जेठभित्रै संसद्लाई जानकारी दिने तयारी गरेका छन् । स्थानीय तहको निर्वाचन गराउन सफल भएको भन्दै उनले निर्वाचनमा सहयोगी सबैलाई पनि धन्यवाद दिने भएका छन् । 

आफूले १९ साउनमा सरकारको नेतृत्व सम्हालेयता लोडसेडिङको अन्त्य, आर्थिक वृद्धि, ओबिओआरमा हस्ताक्षरलगायतका कामबारे पनि प्रचण्डले संसदलाई जानकारी गराउने उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । संसद्मा सम्बोधनसहितका विषयमा सत्ता साझेदार कांग्रेसलगायतका दलसँग पनि प्रधानमन्त्रीले छलफल गर्ने योजना बनाएका छन् ।

सरकारको नीति तथा कार्यक्रम ल्याउने

संविधानअनुसार १५ जेठभित्रै सरकारले नयाँ आर्थिक वर्षका लागि बजेट घोषणा गर्नुपर्ने हुन्छ । निर्वाचनको मुखैमा बजेट ल्याउन नपाउने प्रतिपक्षी एमालेको अडानपछि सरकारले सहमतिका आधारमा कामचलाउ बजेट मात्र ल्याउने तयारी गरेको छ । बजेट ल्याउन सरकारले राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नैपर्ने बाध्यता छ । यसको तयारीमा पनि प्रधानमन्त्री रहेको सल्लाहकार आचार्यले बताए ।

संविधान संशोधनमा सहमति जुटाउने

सरकारले राष्ट्रिय जनता पार्टीसहित संघीय गठबन्धनसँग भएको सहमतिका आधारमा संविधान संशोधनका लागि अधिकतम पहल गरेको छ । संसद्मा दर्ता गरेको संशोधन प्रस्तावमा ५० वटा संशोधन परेका छन् । 

४ जेठमा बस्ने संसद् बैठकमा संघीय गठबन्धनको मागका आधारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने तयारीमा प्रधानमन्त्री छन् । संसद्मा संशोधन प्रस्ताव अगाडि बढाएर पास गराउने उनको योजना छ ।

देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण

प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन र सरकारको नीति तथा कार्यक्रम प्रस्तुतसहित संसद्लाई सम्बोधन गरेर सरकारको नेतृत्व पूर्वसहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा छन् ।

संसद्मा सम्बोधन गरेर नै राजीनामा दिने उनको योजना छ । यसका लागि संसद्मा रहेका दलहरूको बहुमत जुटाएर सरकारको नेतृत्व देउवालाई हस्तान्तरण गर्ने योजना प्रचण्डले बनाएको उनका प्रेस सल्लाहकार आचार्यले बताए ।

संविधान संशोधन नभई सरकार फेर्न नदिने राजपाको चेतावनी

-संविधान संशोधनअघि सरकार परिवर्तन हुन नदिने चेतावनी राष्ट्रिय जनता पार्टी (राजपा)ले दिएको छ । प्रधानमन्त्री प्रचण्डसँग सोमबार भएको छलफलमा राजपाका नेताहरूले समस्या समाधान नभएसम्म सत्ता हस्तान्तरण गर्न नदिने बताएका हुन् ।

-सत्तासाझेदार कांग्रेससँगको भद्र सहमतिका आधारमा अब सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने तयारीमा रहेका

-राजपा नेताहरूले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधन र निर्वाचनका विषयमा छलफल गरेका थिए । प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्न खोजेको र कामचलाउ सरकारले बजेट ल्याउने बताएका थिए ।

-प्रधानमन्त्रीले आफूले दुई मुख्य कार्यभारसहित सरकारको नेतृत्व लिएको प्रसंग सुनाउँदै स्थानीय तहको नयाँ संरचनाअनुसारको निर्वाचन गराउन सफल भएको बताए । संविधान संशोधनको प्रयास पनि गरिरहेकाले अब सत्तासाझेदार दलसँगको सहमतिका आधारमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने समय आएको उनको भनाइ थियो ।

‘प्रधानमन्त्रीले अब यही साताभित्रै कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने र राजीनामा दिएपछिको कामचलाउ सरकारले बजेट ल्याउने बताउनुभयो,’ राजपाका एक नेताले भने । तर, आफूहरूले प्रचण्डकै नेतृत्वको सरकारले संविधान संशोधन गरेपछि मात्र सरकारको विषयमा सोच्न सकिने बताएका थिए ।

प्रधानमन्त्रीले आफूले राजीनामा दिनुअघि नै ४ जेठको संसद् बैठकमा संविधान संशोधन विधेयक अगाडि बढाएर पारित गराउने योजनामा सरकार रहेको जानकारी दिएको मोर्चा नेता महेन्द्र राय यादवले बताए ।

‘प्रधानमन्त्रीले ४ जेठमा संसद्मा संविधान संशोधन विधेयक अगाडि बढाउने र त्यसलाई कसरी पारित गराउने भन्ने विषयमा केन्द्रित रहेर आफ्ना कुराहरू राख्नुभयो,’ बैठकमा सहभागी राजपा नेता यादवले भने, ‘हामीले समस्या हल गर्ने विषयमा गम्भीर रूपमा कुरा राख्यौँ, जसरी पनि पारित गराऔँ भन्ने हाम्रो कुरा राखेका छौँ ।’

प्रधानमन्त्रीसँग राजपाका शीर्ष नेताहरूले झन्डै साढे दुई घन्टा छलफल गरेका थिए । भेटमा राजपाका नेताहरू महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, राजकिशोर यादव, अनिल झा, महेन्द्रराय यादव थिए । 

बैठकको सुरुमै राजपाका नेताहरूले स्थानीय तहको पहिलो चरणको निर्वाचन सफल भएकोमा प्रधानमन्त्री प्रचण्डलाई बधाई दिएका थिए । आजको नयाँ पत्रिकामा यो खबर छ ।

२०७४ जेठ २ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

News

More

Education

More

Fashion

أكثر

Travel

Recent Post

Ads[none]

Archive

728x90 AdSpace

Movies

More

Ads[none]

News

More

Video

More

Random Post

Random

Music

More

Follow us on facebook

Contact Us

Name

Email *

Message *

Futured Post

Pictures

More

Recent

Breaking

Sports

Games

More

Business

More

Technology

More