आँखाको लेन्स उत्पादन गर्ने उद्योगलाई सरकारले सघाउने
उद्योग मन्त्रालयले राजधानीस्थित तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले उत्पादन गर्दै आएको आँखाको लेन्स उत्पादन उद्योगलाई प्रवद्र्धन गर्न सघाउने भएको छ । सोसम्बन्धमा उद्योग मन्त्रालय र प्रतिष्ठानबीच आज सहमति भएको छ ।
सहमतिअनुसार मन्त्रालयले नेपाल आँखा कार्यक्रमले संचालन गर्ने मोतिविन्दु रोगको शल्यक्रिया गरी प्रत्यारोपण गरिने कृत्रिम लेन्स तथा सोका लागि आवश्यक सहायक सामाग्री तथा कच्चा पदार्थ समेतको उत्पादन गर्ने उद्योग स्थापनाका लागि सहजिकरण र समन्वय गर्नेछ ।
नेपाल आँखा कार्यक्रम अन्तरगत हाल तिलगंगा नेत्र विज्ञान प्रतिष्ठानले ४९ लाख लेन्स उत्पादन गरी विक्री वितरण गरेको छ ।
उद्योग मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री नविन्द्रराज जोशिले लेन्स उद्योगलाई राष्ट्रिय गौरवको आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा स्थापित गर्न मन्त्रालयको तर्फबाट आवश्यक सहजिकरण गर्ने बताए ।
नेपाल आँखा कार्यक्रमका कार्यकारी निर्देशक डा. सन्दुक रुईतले अन्तर्राष्ट्रिय बजारमा नेपाली लेन्सले गुणस्तरीय उत्पादनका रुपमा ख्याति कमाईसकेको भन्दै उद्योग मन्त्रालयको सहयोगमा यसलाई अझै बिस्तार गर्दै लैजाने बताए ।